काठमाडौं । प्रतिनिधि सभा विघटनप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
सभामुख घिमिरेले जेनजी पुस्ताको आन्दोलनको उद्देश्यलाई राम्ररी अध्ययन गरी मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । आन्दोलनका क्रममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबैले मिलेर ठिक ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबैकुराहरु राम्ररी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौँ त्यो ज्यादै दुःखद् कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हाम्रो सबैको दायित्व हो । यो बेलामा सबै लागौँ । यी सबै दुर्घटनाहरू नहुनुपथ्र्यो। मुलुकमा व्याप्त समस्याहरूलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरू खोज्न सकिन्थ्यो होला, तर त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो ।’
सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया