कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस : हतारमा निर्णय नगर्ने ‘मूड’ मा संस्थापन

लोकपथ
2.4k
Shares

काठमाडौं । यतिबेला प्रायः सबै दलका पार्टी कार्यालय जलेर खरानी बनेका छन् । केही दलबाहेक मुख्य भनिएका दलहरुको कार्यालयहरु खण्डहर बनिरहँदा त्यही खरानीबाट उठ्ने संकल्पमा दलहरु लागिरहेका छन् ।

दलहरुले आफ्नो खण्डहर बनेको पार्टी कार्यालयलाई त पुनः उठाउनला, तर निरन्तर प्रश्न उठिरहेको नेतृत्व संरचनालाई कसरी अघि बढाउलान् चासोका साथ हेरिएको छ । निरन्तर एकै व्यक्ति पार्टीको नेतृत्वमा रहेका कारण बाहिरबाट दलभित्र दबाब बढाइरहेका थिए । तर अहिले जेनजी आन्दोलनपछि पुनः दलहरुले नेतृत्व फेर्ने तागत राख्नुपर्ने आवाज उठिरहेको छ ।

आफूलाई लोकतान्त्रिक भन्ने दल नेपाली कांग्रेसमा घटनाको घाउ सेलाउन नपाउँदै नेतृत्व हस्तान्तरण र त्यसभित्र पुस्तान्तरणको बहस चल्न थालेको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गरेका छन् । साथै त्यसका लागि नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठाएका छन् । यता महामन्त्री गगनले भने अहिलेकै परिपाटीले पार्टीभित्र आमूल परिवर्तन आउन नसक्ने भन्दै पार्टी पुर्णरुपमा पुनगर्ठन हुनुपर्नेमा जोड दिएका छन् । केही दिनअघि उनले फेसबुक लाइभमा आएर पार्टीमा आमूल परिवर्तनका लागि बरु आफू महामन्त्रीपद नै छाड्न तयार रहेको उनले बताए ।

‘आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौँ । भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौँ,’ उनले भनेका थिए ।

यता अन्य नेताहरुले समेत नेतृत्वमाथि दबाब बढाइरहेका छन् । त्यतिमात्र होइन केही केन्द्रीय तहका नेताहरु सबै पदाधिकारीहरुले राजीनामा दिन समेत नगरेका होइनन् ।

जेनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा घाइते भएका छन् । अहिले अस्पतालमा उपचाररत रहेको अवस्थामा नै राजीनामा मागियो भन्दै नेताहरुको आलोचना समेत भइरहेको छ ।

खण्डहर बनेको पार्टी कार्यालय हेर्न दिनहुँजसो नेताहरु सानेपास्थित पार्टी कार्यालयमा पुगिरहेका छन् । जलेर खरानी बनेको पार्टी कार्यालय हेरेर फर्किरहेका नेताहरुले पार्टी कार्यालय मात्र नभएर पार्टी संरचनालाई नै पुनः उठाउनु पर्ने तर्क गरिरहेका सुनिन्छन् ।

बुधबार दिउँसो पार्टी उपसभापति पूर्णबहादुर खड्का पार्टी कार्यालय सानेपा पुगे । सरसर्ती पार्टी कार्यालय भवनको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले पार्टीलाई एकताको बलमा उठाउने बताए । साथै जनताको बलमा पुनः पार्टीलाई नयाँ ढंगबाट उठाउने बताए ।

‘अहिले पार्टीलाई फेरि उठाउनु छ। एकताको बलमा हामी फेरि उठ्छौँ, हामी त्यो सक्छौँ। नेपाली कांग्रेसको इतिहासले भन्छ, अरू पार्टीको पनि आआफ्नो इतिहास होला,’ उनले भने, ‘जनताले प्राप्त गरेको अधिकार, संविधानको रक्षासँग जोडिएर आउने जिम्मेवारी यी सबै कुरालाई ध्यानमा राखेर एकताबद्ध हुन्छौ, एकताबद्ध भएर हामी फेरि हामी नयाँ तरिकाले उठाउँछौँ ।’

पार्टी कार्यालय पुग्ने हरेक नेताहरुलाई सञ्चारकर्मीको प्रश्न पार्टीको नेतृत्व के हुन्छ भन्नेतिर केन्द्रित देखिन्छ । खासगरी सभापति देउवाका विश्वास पात्र समेत रहेका उपसभापति खड्काले हतार गरेर कुनै निर्णयमा नपुग्ने बताए ।

विवेकपूर्ण ढंगले पार्टी नेतृत्वबारे बहस, छलफल र निर्णय हुने भन्दै उनले भने,‘बिस्तारै हामी छलफललाई अगाडि बढाइरहेका छौँ । हतारिएर हामी कुनै निर्णयमा पुग्दैनौँ, जिम्मेवार पार्टी, पुरानो पार्टी, लोकतन्त्रका सबै आन्दोलनको नेतृत्व गरेको पार्टीका हामी विभिन्न पुस्ताका छौँ । यसैले हामी सबै मिलेर विवेकपूर्ण, एकताबद्ध तरिकाले, यसमा कसैलाई छुट्टाएको छैन, सबैमाथि आक्रमण भएको छ ।’

सभापति देउवाको स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको बताउँदै त्यसपछि आफूहरुले थप निर्णय लिने बताए ।

‘हामी गम्भीर्यतापूर्वक छलफल गरिरहेका छौँ । केही समयभित्रै सभापतिसँग छलफल परामर्श गर्दैछौं,’ खड्काले भने, ‘बिस्तारै उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, त्यसपछि हामी थप कुराहरू बोल्छौँ ।’

त्यसो त कांग्रेसभित्र मात्र नभएर अन्य पार्टीभित्र समेत नेतृत्व हस्तान्तरणको बहस उत्कर्षमा पुगेको छ ।

माओवादीका शीर्ष तहका नेताहरुले नै अध्यक्षको राजीनामा माग गरिरहेका छन् । यता एमालेमा भने केही असन्तुष्ट नेताहरुबाहेक अरुले नेतृत्वको आलोचना र नेतृत्व हस्तान्तरणको कुरा सतहमा ल्याएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?