आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई

लोकपथ
308
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् ।

उनले बहुदलीय लोकतन्त्रमा निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउनुपर्ने उल्लेख गर्दै लोकतन्त्रको खम्बालाई कमजोर पार्न नहुनेमा जोड दिए । भट्टराईले तोकिएको समयमा चुनाव सम्पन्न गराउन राजनीतिक दलहरुले भूमिका खेल्नुपर्ने धारणा राखे ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरु पुनः संरचना हुन सक्ने सम्भावना कम रहेको छ । उनले यी दलहरुमा अझै पनि पुराना नेताहरुको उकुसमुकुस हावी भएको बताए ।

भट्टराईले आगामी दिनमा वृहत खालको राजनीतिक पुनः संरचना अपरिहार्य देखिएको भन्दै २८ वर्षभन्दा मुनिका युवाहरुले दबाब सिर्जना गरे परिवर्तन सम्भव हुने टिप्पणी गरे ।

उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई कमजोर पार्न दिनु हुँदैन । पुराना दलहरुको पुनः संरचना हुन्छ जस्तो लाग्दैन । तर आगामी दिनमा वृहत खालको राजनीतिक पुनः संरचना हुन सक्छ । जेन जी अर्थात् २८ वर्षभन्दा मुनिका युवाहरुले दबाब सिर्जना गरे परिवर्तन सम्भव हुन्छ ।’

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र गलत भन्दै आएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?