१६ बुँदे प्रस्तावसहित जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

लोकपथ
11.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् । उपमहासचिव शर्माले १६ बुँदे प्रस्ताव अघि सार्दै अध्यक्ष प्रचण्डको राजीनामा मागेका हुन् ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर तयार पारेको प्रस्तावमार्फत शर्माले अबको बाटो नयाँ नेतृत्वमार्फत तय गर्नुपर्ने धारणा राखेका छन् ।

प्रचण्डसँग लामो समयदेखि असन्तुष्ट देखिँदै आएका शर्माले अध्यक्ष पदमा निरन्तरता दिनुभन्दा राजीनामाले पार्टीलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

शर्माको प्रस्तावका मुख्य अंश

१. जेनजी आन्दोलनले भ्रष्टाचार र दलतन्त्रमा प्रहार गरेको हुनाले यसको सकारात्मक संश्लेषण गर्नुपर्ने ।
२. दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली उजागर भएकाले देशलाई नयाँ ढंगले अघि बढाउने बाटो खोलिएको ।
३. अन्तरिम सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने ।
४. सम्पत्ति छानबिनका लागि स्वतन्त्र नेतृत्वमा आयोग गठन गर्नुपर्ने ।
५. २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति र आन्दोलनमा भएको क्षतिबारे उच्चस्तरीय छानबिन गर्नुपर्ने ।
६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्ने ।
७. प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणालीतर्फ लैजानुपर्ने ।
८. पदधारणको संख्या सीमित गर्ने स्पष्ट नीति बनाउनुपर्ने ।
९. पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माणको बहस सुरु गर्नुपर्ने ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने ।
११. दलित र महिलासम्बन्धी समस्यामा स्पष्ट नीति बनाउनुपर्ने ।
१२. सांस्कृतिक विचलन र यौन अराजकतामाथि छानबिन गर्नुपर्ने।
१३. शहीद, बेपत्ता परिवार, घाइते योद्धा तथा असक्त नागरिकको संरक्षण नीति ल्याउनुपर्ने।
१४. श्रम र उत्पादनलाई प्राथमिकता दिँदै स्वरोजगार अभियान सञ्चालन गर्नुपर्ने।
१५. राष्ट्रियताको संकटप्रति सचेत रहन पार्टीलाई तयार पार्नुपर्ने।
१६. यी सबै लक्ष्य पूरा गर्न सक्षम संगठन निर्माण गर्नुपर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?