रुपन्देही । भदौ २४ गतेको तोडफोड र आगजनीबाट क्षतिग्रस्त रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले पार्किङस्थलमार्फत सेवा प्रवाह सुरु गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार आइतबारदेखि पार्किङ क्षेत्रमा टेन्ट राखी ल्यापटप र प्रिन्टरमार्फत करदातालाई आवश्यक सेवा प्रदान गर्न थालिएको हो । उनले भने, ‘हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइनबाट दिइरहेका छौँ, उपलब्ध साधनस्रोत र कर्मचारीकै भरमा न्यूनतम रूपमा सेवा प्रवाह भइरहेको छ ।’
उनका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको छ । सातवटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, सोफा, दराजलगायत सामान जलेका छन् । केही करदाताका फाइल पनि जलेर नष्ट भएको जानकारी उनले दिए । साथै कार्यालयमा रहेका केही सवारीसाधन र गार्डरुम पनि क्षतिग्रस्त भएका छन् ।
सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त भए पनि कार्यालयले सेवा निरन्तरता दिएकोप्रति खुसी व्यक्त गर्दै सेवाप्रति सन्तुष्टि जनाए ।
यस्तै, रुपन्देहीमा जारी निषेधाज्ञा र कफ्र्यू पनि भदौ २८ गते शनिबारदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको समग्र शान्ति–सुरक्षा सामान्य रहेको र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले निषेधाज्ञा हटाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन, शिक्षण संस्था सञ्चालन, आवागमन र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया