म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम-कोरला सडक सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी सडकमा थुप्रिएका ठूला ढुंगा फुटाउने काम गरिएको थियो । त्यसपछि डोजर प्रयोग गरी पहिरो पन्छाउँदै गए राति करिब १० बजे सडक सञ्चालनमा ल्याइएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । अवरुद्धका कारण कोरलानाका हुँदै सामान ल्याउने कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेका मालवाहक ट्रक घाँसामै रोकिएका थिए ।
सोह्रश्राद्धका अवसरमा मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न देशका विभिन्न स्थान र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी तथा पर्यटक पनि सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द रहेकाले दसैँका लागि आवश्यक वस्तु मुस्ताङको कोरलाताकाबाट ल्याइने क्रम बढेसँगै बेनी-जोमसोम सडकमा सवारी चाप बढेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया