काठमाडौं । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्माण जेन–जी जनताको अपेक्षाविपरीत बन्न पुगेको भन्दै यसलाई गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा आफूहरू पुगेको जनाएको छ ।
सो पार्टीका महासचिव विप्लव सीद्वारा सोमबार जारी विज्ञप्तिमा ‘विद्रोह जेन–जीको’ तर ‘सरकार जेन–एक्स’ को बन्न गएको भन्दै सरकारको बनोटप्रति नै विरोध दर्ज गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले पहिले नै स्पष्ट गरेका थियौँ कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय बन्नु पर्दछ । विभिन्न क्षेत्रबाट यो सुझाव नपुगेको होइन । परन्तु यसलाई जानाजान प्रवेश गराइएन या बेवास्ता गरियो । कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैर–दलीय, गैर– वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्विकार्ने छैनन् ।’
उनले वर्षौंदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरूलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु नभई संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र भएको पनि बताएका छन् ।
‘हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनर्संरचना र संविधानको पुनःलेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत् राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रूपान्तरण गर्नका लागि समयमा नै सचेत बनौँ । देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गरौँ । हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमानदारीपूर्वक डटिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया