अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले पीएसओलगायत कुनै पनि सुविधा नलिने

लोकपथ
2.6k
Shares

काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले मन्त्रीको हैसियतमा राज्यबाट पाउने कुनै पनि सुविधा नलिने भएका छन् । उनले मन्त्री क्वार्टर, गाडी, पीएसओलगायतका कुनै पनि सुविधा नलिने भएका हुन् । 

प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनले अर्थमन्त्रीको जिम्मेवारी लिने पक्कापक्की भइसकेको छ । अहिले बिहान साढे ११ बजे राष्ट्रपति निवास परिसरमा शपथ ग्रहण समारोह हुँदैछ ।

मन्त्रीको हैसियतमा राज्यबाट पाउने कुनै पनि सुविधा नलिने आफन्तमाझ बताएका उनलाई अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले पीएसओ भने राख्न आग्रह गरेको थियो । तर खनालले त्यो पनि नमानेको बताइएको छ ।  

खनालले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि कुनै पनि सुविधा नलिई काम गरेका थिए । खनाल तिनै व्यक्ति हुन्, जसले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको कर छलीका विषयमा मतभेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकालाई केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा ठोस सुझाव दिइएको छ ।

सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?