सडक र यातायात विभागका भवन जलेर नष्ट, दमकल परिचालन

लोकपथ
616
Shares

काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागका भवनमा लागेको आगो अहिले पनि निभाइँदै छ । मंगलबार प्रदर्शनकारीले यी भवनहरूमा आगजनी गरेका थिए ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार मन्त्रालयको मुख्य भवनमा ठूलो क्षति नभए पनि सडक विभाग र यातायात विभागका भवनहरू जलेर पूर्णरूपमा नष्ट भएका छन् । उनले भने, ‘अहिले पनि भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल परिचालन गरेर निभाउने प्रयास भइरहेको छ । भवनसँगै कार्यालयका गाडीहरू पनि जलेका छन् । तर क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रवक्ता अधिकारीले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र छिट्टै सार्वजनिक गर्ने बताए ।

यसैबिच, सिंहदरबारभित्र रहेका कलात्मक प्रशासनिक भवनहरू समेत आगलागीका कारण खरानीमा परिणत भएका छन् । प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका मुख्य सरकारी संरचनामा समेत आगजनी गरेका थिए ।

आज बिहानदेखि सिंहदरबार पुगेका कर्मचारीहरूले जलेका भवनहरूको सरसफाइ सुरु गरेका छन् । मुख्य सचिव एकनारायण अर्यालले स्थलगत अवलोकन गर्दै सरकारी संरचनामा अपूरणीय भौतिक क्षति भएको उल्लेख गरेका छन् ।

यद्यपि क्षतिको यकिन विवरण अझै आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?