काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समयमा नै जेनजी पुस्ताको मागहरुबारे हस्ताक्षेप गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् ।
आज संयुक्त विज्ञप्ति निकाल्दै महामन्त्रीद्वय थापा र शर्माले लोकतान्त्रिक आन्दोलन गरेर आएको दल नेपाली कांग्रेसलाई आगामी दिनमा जरैदेखि राम्रो बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
आफूहरुले सत्तालाई जवाफदेही बनाउन गरेको प्रयासहरु अपूर्ण रहेको, प्रयाप्त हस्तक्षेप गर्न नसकेको मात्र नभइ नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मालोचित रहेको स्वीकार गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं । त्यस क्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै जेनजी आन्दोलनकारीको भावना र घोषणा भन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवस पसेकाहरुले योजनावद्ध रुपमा यो सबै घटना घटाएको महामन्त्रीद्वयको विश्लेषण रहेको छ । जेनजीको आन्दोलनमा घुसपैठ हुँदा यो सबै घटना घट्न गएको दाबीसहित महामन्त्रीद्वयले अबको सरकारले देशव्यापी सम्पूर्ण छानबिन गर्न र पुननिर्माणमा चाँडो योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समुहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ,’ संयुक्त भनेका छन् ।
त्यसैगरी आफूहरुले सरकारलाई पटकपटक सुझाव दिँदा नमानेकाले आजको परिस्थिति आएको समेत दाबी गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ पढ्नुहोस् :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया