‘जेन-जी’ आन्दोलनका कारण राज्य व्यवस्था समिति बैठक प्रभावित, गृहमन्त्री लेखक बिचमै हिँडे

लोकपथ
889
Shares

काठमाडौं । ‘जेन-जी’ आन्दोलनका कारण आज सोमबारको राज्य व्यवस्था समिति बैठक प्रभावित बनेको छ । प्रहरी विधेयकमाथि छलफल भइरहँदा ‘जेन-जी’ आन्दोलनका कारण काठमाडौंको सुरक्षा व्यवस्था खलबलिँदै गएपछि गृहमन्त्री रमेश लेखक बिचमै हिँड्दा बैठक प्रभावित बनेको हो । 

गृहमन्त्री लेखक हिँडेसँगै सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गरेकी थिइन् । 

जेन-जीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा राति साढे १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । कर्फ्यु जारी भएपनि त्यस क्षेत्रको अवस्था पनि तनावग्रस्त छ । 

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ६ महिनापछि आज नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल सुरु गरेको थियो । यसका निम्ति बिहान ११ बजे समितिको बैठक राखिएको थियो । 

संघीयता कार्यान्वयनसँग जोडिएको नेपाल प्रहरी विधेयक ११ फागुन २०८१ अर्थात् ६ महिनादेखि यो समितिमा छ । 

बैठकमा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग छलफल हुँदै थियो । यो विधेयकमा ५१ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयलाई सच्याउनुपर्ने भन्दै सांसद्हरु राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी, मैना कार्की, प्रेम सुवाल, विमला सुवेदी, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, जनार्दन शर्मालगायतले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

२०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्ने गरी दर्ता विधेयकका केही प्रावधानहरूमा प्रहरी प्रधान कार्यालय नक्सालसँगै पूर्वप्रहरी वरिष्ठ अधिकृतहरूको असन्तुष्टि छ । त्यसलाई लिएर पूर्वप्रहरी उच्च अधिकृतहरूले सबै राजनीतिक दलका सांसद्हरुसँग छलफलसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?