डिजिटल पूर्वाधारमा निजी क्षेत्रको सहभागिता आवश्यक : योगेश भट्टराई

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागी गराउन जरुरी रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यमान कानुन र थप आवश्यक कानुन निर्माणमार्फत निजी क्षेत्रलाई डिजिटल क्षेत्रमा आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा राज्यको प्राथमिकता कायम रहनुपर्ने भए पनि अन्य क्षेत्रहरूमा पब्लिक–प्राइभेट पार्टनरशिप ९पीपीपी० मोडलमार्फत अघि बढ्नु अपरिहार्य छ ।

भट्टराईले विद्युत् क्षेत्रमा विगतमा उत्पादनमा मात्र जोड दिइएको तर ट्रान्समिसन लाइन विस्तारमा ध्यान नदिँदा समस्या देखिएको उदाहरण दिँदै भने, ‘हामीसँग अहिले झन्डै चार हजार मेगावाट विद्युत् उत्पादन क्षमता छ, तर प्रसारण गर्ने पूर्वाधार छैन । त्यसैले ट्रान्समिसनमा निजी क्षेत्रलाई ल्याउनुपर्छ ।’

उनले ट्रान्समिसन लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण जस्तै अर्को छुट्टै प्राधिकरण गठन गरेर निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउनुपर्ने धारणा राखे ।

डिजिटल पूर्वाधारमा पनि त्यस्तै संरचना आवश्यक रहेको बताउँदै उनले भने, ‘निजी क्षेत्र बिस्तारै अर्थतन्त्रको बलियो खम्बा बन्दै गएको छ । त्यसलाई डिजिटल इन्फ्रास्ट्रक्चरमा पनि कसरी ल्याउने भनेर सोच्नुपर्छ । राज्यले वातावरण बनाउनुपर्छ, सुरक्षा प्रत्याभूति गर्नुपर्छ र वित्तीय चुनौतीमा अभिभावकको भूमिका खेल्नुपर्छ ।’

सचिव भट्टराईले अनौपचारिक अर्थतन्त्रलाई व्यवस्थित गर्दै औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक कदम चाल्नुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?