राजनीतिक दलमा लाग्नुको अर्थ ‘दलिनु वा दबिनु’ होइन : गगन थापा

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्नसक्ने भने त्यसले समाजमा अझ धेरै बढी योगदान दिनसक्ने स्पष्ट पारे ।

राजनीतिक दलमा आवद्ध हुने कुराले अझ बढी समाजप्रति दायित्ववोध हुने भएकाले पनि त्यसको आवद्धताको विषयलाई गलत ढंगले व्याख्या गर्न नहुने उनको भनाई थियो ।

महामन्त्री थापाले राजनीतिक दलमा आवद्ध भएका स्रष्टाहरुले अझ बढी समाजलाई सही बाटोमा अघि बढाउन प्रेरित गर्न सक्ने निष्कर्ष समेत सुनाए ।

उनले भने, ‘दलमा लाग्ने कुरा आफैँमा खराब कुरा होइन । दलमा लाग्नुको अर्थ दलिनु होइन, दबिनु होइन । दलमा लाग्नुको अर्थ दलदलमा फस्नु होइन । दलमा लाग्नुको अर्थ प्रश्नको घाटी निमोठनु होइन । दलमा लाग्नुको अर्थ सास फेर्न छोड्नु होइन । दलमा लाग्नुको अर्थ अझ अरुलाई बाँच्नका लागि प्रेरित गर्नु हो । अझ फैलिनु हो । दलमा लाग्ने मानिसको दलमा नलाग्ने मानिसको भन्दा बढी दायित्ववोध हुनुपर्छ । हामीले खोजेको यसरी मानिसहरु दलमा लागोस् कि दलमा लाग्दा उसको आत्मा नमरोस भनेको हो । दलमा लाग्न साथ दलदलमा फसाउने भन्ने होइन । राजनीतिक चेतनाको आँखाले समाजलाई हेर्ने काम जुन नवराज लम्सालले गर्नु भयो । त्यसका लागि साधुवाद छ । यसले नयाँ पुस्ताका साथीहरुलाई, फरक फरक राजनीतिक धारणा राख्ने सबैलाई खासगरी स्रष्टा, कविहरुलाई नयाँ ढंगले प्रेरित गर्छ भन्ने मलाई लाग्दछ ।’

त्यस अवसरमा महामन्त्री थापाले लम्सालले साहित्य सृजनाको माध्यामबाट समाज परिवर्तनको दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?