संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित

लोकपथ
1k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा सभापति घोषणा गरेको हो । 

यसअघि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।

खतिवडा यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापति रहिसकेका छन् । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादपछि गठन भएको छानबिन समितिले उनलाई नैतिक तथा राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले त्यस पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?