काठमाडौं । सरकारले विपन्न नागरिकहरुका लागि विभिन्न घातक ८ रोगमा उपलब्ध गराउँदै आएको सेवाका विषयमा भएका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको नीति तथा योजना शाखाले स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको हो ।
त्यसो त गत भदौ ४ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलस्तरीय निर्णय अनुसार सरकारले विपन्न नागरिकलाई पुर्याउँदै आएको उपचार सुविधाका कार्यक्रमलाई एकद्वार प्रणाली लागु गर्ने निर्णय भएको थियो । सो सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बीमा बोर्डबाट हुँदै आइरहेको छ ।
मन्त्रालयले दुई निकायलाई पत्र पठाउँदै त्यस्ता सुविधा लिने विपन्न नागरिकहरु अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने जनाएको छ । त्यसका लागि असोज मसान्तभित्र स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने र सुविधा लिइरहेकाहरु समेत सोही समयावधिभित्रै बिमित हुने व्यवस्था मिलाउन समेत मन्त्रालयको निर्देशन रहेको छ ।
‘विपन्न नागरिकका लागि आठ कडा रोगमा उपलब्ध गराउँदै आएको उपचार सुविधा प्राप्त गर्न स्वास्थ्य बीमामा अनिवार्य बिमित हुनुपर्ने व्यवस्था स्वीकृत निर्देशिकाको दफा ४ क. मा उल्लेख भएकोले उपरोक्त निर्देशिका बमोजिमको सेवा निरन्तरताका लागि सेवाग्राहीलाई स्वास्थ्य बीमामा आवद्ध हुन असोज मसान्तसम्म समय दिने र उक्त सेवा लिईरुहेका सेवाग्राहीहरुलाई सो समयावधि भित्रै बिमित हुने व्यवस्था मिलाउनका लागि यस मन्त्रालयको मिति २०८२–०५–१९ (माननीय मन्त्रीस्तरको) निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया