काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गलाई सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गर्नुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समयसापेक्ष रुपमा निजामती सेवामा सुधार आवश्यक भएको औँल्याए ।
सभापति देउवाले कर्मचारी युनियनलाई राष्ट्र सेवक कर्मचारीहरूको अभिभावकको हैसियतमा जिम्मेवार भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले सबल र सक्षम निजामती सेवा निर्माणमा ट्रेड युनियनको योगदान अपरिहार्य हुने बताए ।
उनले भने, ‘विगतका कमी कमजोरीलाई सच्याएर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरू सक्रिय हुनुपर्छ । इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासन सम्भव हुन्छ ।’
यस्तै उनले स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता, इमानदारी र सेवामुखी कर्मचारी छनोटका लागि युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्नेमा जोड दिए । देउवाले निजामती सेवा ऐन, २०६४ जारी गराउन युनियनले खेलेको नेतृत्वदायी भूमिकालाई विशेष स्मरणीय बताउँदै यसले कर्मचारी हकहित र सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ ढोका खोलेको उल्लेख गरे ।
सो अवसरमा युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारी ट्रेड युनियनले रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले संघीय निजामति सेवा विधेयकका कमजोरी सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक तथा महत्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तक विमोचन गरे । त्यस्तै निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीसहित विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया