देश निर्माणको आधार राजनीति हो : सभामुख घिमिरे

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् ।

पूर्व सांसद मञ्चको २६औँ स्थापना दिवसका अवसरमा बिहीबार संसद् भवनमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले राजनीति सही दिशामा भएमा देशले द्रुतगति विकास गर्ने तर राजनीति असन्तुलित भएमा सबै क्षेत्र प्रभावित हुने बताए ।

उनले भने, ‘देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने बित्तिकै देशले उन्नति, प्रगति गर्न सक्छ । तर राजनीति अस्वस्थ भएमा सबै क्षेत्र प्रभावित हुन्छ । नेपालले पनि विगतमा यो कुरा भोगेको छ ।’

उनका अनुसार ७० वर्ष नाघेका वा नजिकिएका पूर्व सांसदले लामो राजनीतिक इतिहासमा विभिन्न उतार–चढाव भोगेका कारण यस्ता विषयमा अझ गहिरो ज्ञान राख्छन् । संविधान कार्यान्वयन, सरकार निर्माण र संसद्को प्रभावकारी सञ्चालनमा पूर्व सांसदले दिएको योगदान महत्त्वपूर्ण रहेको पनि सभामुखले उल्लेख गरे ।

सभामुख घिमिरेले पूर्वसांसदहरुको सम्मान, स्वास्थ्य उपचारको प्रवर्द्धन तथा जीवनस्तरमा सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल राज्यसँग पूर्वसांसदहरुको अवस्थाबारे पर्याप्त जानकारी नरहेको भन्दै उनले यसलाई सच्याउन आवश्यक कदम चालिनुपर्नेमा जोड दिए ।

सो अवसरमा मञ्चले ७० वर्ष पूरा गरेका पूर्वसांसदहरुलाई विशेष सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?