काठमाडौं । Nepalese Association of Southeast America (NASeA) को ३४औँ वार्षिक अधिवेशन हालै अमेरिकाको जर्जिया राज्यको एट्लाण्टा शहरमा सम्पन्न भएको छ ।
नासाको २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनसहित साहित्यिक कवि गोष्ठी सहित विभिन्न सांस्कृतिक कार्यक्रमका साथ उक्त अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो चरणमा उद्घाटन सत्र, दोश्रो चरणमा साहित्य महोत्सव, तेश्रो चरणमा निर्वाचन र चौथो चरणमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता र नासाको वर्तमान अध्यक्ष डा. सुमन सिलवालको अध्यक्षतामा संचालित उद्घाटन सत्र पछि बृहत कविगोष्ठी संचालन गरिएको थियो । उक्त साहित्यिक समारोहमा अनेसासका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय गीतकार संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदाल प्रमुख अतिथि रहेका थिए भने भने अनेसास जर्जिया चप्टरकी अध्यक्ष मिरा कोइरालाले अध्यक्षता गरेकी थिइन् ।
गोष्ठीमा नेपालबाट पुगेका कवि ध्रुबराज पौडेल सहित अमेरिकामा रहेका कवि एवं गीतकारहरु राजा घले, डा. रामचन्द्र बराल, डा. संजिव उप्रेती, गीता सापकोटा, मीरा कोइराला, सुजाता ढुंगेल, ज्ञानेन्द्र गदाल लगायत अन्य स्थानीय कविहरुले कविता बाचन गरेका थिए ।
कवि गोष्ठीपछि संस्थाको साधारण सभा सम्पन्न भए लगत्तै निर्वाचन भएको थियो । निर्वाचनबाट बिद्या गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । अध्यक्षमा मात्रै निर्वाचन भए पनि कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
यसरी ३४ वर्षको लामो इतिहासमा पहिलोपल्ट नासाले महिला नेतृत्व पाएको हो । नवनिर्वाचित अध्यक्ष गुरुङ लामो समयदेखि नासाको विभिन्न निकायमा रहेर प्रभावकारी रुपमा जिम्मेवारी निभाइसकेकी एक अनुभवी र शालीन व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया