रुपन्देही–३ उपनिर्वाचन : राप्रपाले पनि ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनोट गर्ने

लोकपथ
1.2k
Shares
फाइल तस्बिर

काठमाडौं । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आन्तरिक प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत् उम्मेदवार छनोट गर्ने भएको छ ।

आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

रुपन्देही जिल्ला कार्यसमितिको सिफारिसका आधारमा आन्तरिक प्रतिष्पर्धाबाट सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै उम्मेदवार बन्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

‘रुपन्देही क्षेत्र न. ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्नेछ । आगामी कार्तिक १७ गते हुने उपनिर्वातनका लागि उम्मेदवार छनोट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइ आएका आकांक्षी उम्मेदवारहरुमध्येबाट प्रजातान्त्रिक ढंगबाट उम्मेदवार छनौट गर्न तपसिल बमोजिमका मतदाताहरुबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकांक्षी उम्मेदवारलाई उक्त उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै राप्रपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले उम्मेदवार छनोटका लागि मतदाताको मापदण्ड समेत तयार गरेको छ । जसअनुसार रुपन्देही–३ को प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, दुवै प्रदेशसभा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सो निर्वाचन क्षेत्रका सबै वडा, गाउँ, नगर र उपमहानगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रहनेछन् । त्यसैगरी रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, ०८२ साल भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरु र ०८२ साल भदौ १७ गतेसम्म सक्रिय सदस्य भइसकेका रुपन्देही क्षेत्र नं ३ अन्तर्गतका सक्रिय सदस्यहरु मतदाताका रुपमा रहनेछन् ।

राप्रपाभित्र उम्मेदवार छनोटमा कठिनाइ भएपछि आन्तरिक प्रतिष्पर्धा गराएर उम्मेदवार छनोट गर्ने भएको हो ।

त्यसो त यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक प्रतिष्पर्धाबाट उम्मेदवार छनोट गरेको थियो । रास्वपाले सो क्षेत्रका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?