काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने मुख्य जिम्मेवारी बन्दीपुरवासीकै भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बन्दीपुरको सम्भावना ठूलो भए पनि त्यसको भरपूर उपयोग हुन नसकेको उल्लेख गरे । ‘बन्दीपुरलाई अरू कसैले बनाइदिँदैन, अन्तिम निर्णयकर्ता बन्दीपुरवासी नै हुनुहुन्छ,‘ मन्त्री पौडेलले भने ।
उनले बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको स्मरण गर्दै एक समयमा बन्दीपुर फुलेफक्रेको तर पछि ओइलाएको र हाल फेरि पुनःजीवित भएको बताए । ‘बन्दीपुर अहिले नयाँ ढंगले फुल्ने फक्रिने प्रयासमा छ,‘उनको भनाइ थियो ।
प्राकृतिक, सांस्कृतिक, पर्यटकीय र सामाजिक दृष्टिकोणले बन्दीपुरलाई अत्यन्त आकर्षक गन्तव्यको संज्ञा दिँदै उनले स्थानीयलाई अझै बढी सक्रिय भएर पर्यटन, कला र संस्कृतिको प्रवर्द्धनमा योगदान गर्न आह्वान गरे ।
राज्य र अन्य विकास प्रेमी निकायहरूबाट सहयोग लिन सकिने तर बन्दीपुरलाई उज्यालो भविष्यमा लैजाने निर्णायक भूमिका स्थानीयले नै खेल्नुपर्ने उनको भनाइ थियो ।
‘बन्दीपुरसँग अहिले देखिएको भन्दा अझ ठूलो क्षमता र सम्भावना छ । त्यसलाई अत्यधिक रूपमा उद्घाटित गर्नुपर्नेछ,‘उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया