काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत परियोजना निर्माणमा ऊर्जा मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा समस्या देखिएको बताएकी छन् ।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले उच्च जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईएमपी अपडेट) सम्बन्धी समस्या उठाएकी हुन् ।
उनले व्यङ्ग्य गर्दै भनिन्, ‘पहिला वन र भूमिसुधार मन्त्रालयबिच समन्वय हुँदैनथ्यो। अहिले चाहिँ ऊर्जा र वन मन्त्रालयको भेट हुँदैन जस्तो लाग्न थालेको छ। सिंहदरबार भित्रै छ, भेटघाट किन नभएको होला । ?’
सांसद सुब्बाले दुई मन्त्रालयबिच समन्वयका लागि ‘पुल बनाउनुपर्छ भने हामी तयार छौँ’ भनी उल्लेख गर्दै परियोजना निर्माणमा रोक नलाग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले दुवै मन्त्रालयले संयुक्त अनुगमन गरी कहाँ रुख काट्न मिल्छ, कहाँ सुरुङ खन्न सकिन्छ भनेर स्पष्ट पार्नुपर्ने बताइन् ।
सरकारले २०३० सम्म १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै, ‘बाधा अड्चन लगाएर परियोजना रोक्ने हो भने लक्ष्य हासिल गर्न सकिँदैन। सहजीकरण आवश्यक छ,‘ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया