कर्णाली राजमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध, यात्रु बिच बाटोमै अलपत्र

लोकपथ
56
Shares

जुम्ला । अविरल वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्गको कालीकोटस्थित गगनेखोला खण्ड अवरुद्ध भएको छ । गए राति परेको लगातार वर्षाले सडक अवरुद्ध बनेको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन र विशेष गरी रातिको समयमा यात्रा नगर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

यसैबिच, बैतडीको देहिमाडौं–गिरेगडा सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक पहिरोसँगै ठुलो ढुङ्गा खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

उनले भने, ‘हिजो रातिसम्म जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने प्रयास गरिए पनि ठुलो ढुङ्गा अड्किएकाले सम्भव भएन । आज स्काभेटरको सहायताले ढुङ्गा हटाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । तर सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । घर फर्किँदै गरेका यात्रु बिच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?