अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

लोकपथ
280
Shares

अमेरिका । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ ।

वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ । त्यसका लागि अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत् राख्न अनुमति दिएको रोयटर्सले जनाएको छ ।

यस फैसलाले रिपब्लिकन राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा प्रमुख हतियारका रूपमा भन्सार दरको प्रयोगलाई कमजोर बनाएको छ । जस कारण यस वर्ष ट्रम्पको समग्र आर्थिक नीतिमाथि एक कानुनी टकरावको स्थिति सिर्जना भएको छ ।

ट्रम्पले अप्रिलमा लगाएको पारस्परिक (रेसिप्रोकल) भन्सार र फेब्रुअरीमा चीन, क्यानडा र मेक्सिकोविरुद्ध लगाइएको छुट्टै करहरूको वैधानिकतामाथि अदालतले प्रश्न उठाएको छ ।

ट्रम्पले भन्सार दर घोषणा गर्दा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आइइपिए) लाई आधार बनाएका थिए । उक्त ऐनले राष्ट्रपतिलाई राष्ट्रिय आपतकालको समयमा असाधारण खतराहरूलाई सम्बोधन गर्ने शक्ति दिन्छ ।

यद्यपि अदालतले भने उक्त ऐनले राष्ट्रपतिलाई धेरै अधिकार प्रदान गरे पनि भन्सार, अरू शुल्क वा त्यस्तै प्रकारका दस्तुर लगाउने अधिकार समावेश नभएको भनेको छ ।

अमेरिकी पुनरावेदन अदालतको यो आदेश ७–४ को बहुमतले गरेको हो ।

यसमा बहुमतमा रहेका सात न्यायाधीशमध्ये ६ जना डेमोक्रेटिक राष्ट्रपतिहरूद्वारा र एक जना रिपब्लिकन राष्ट्रपतिद्वारा नियुक्त भएका थिए ।

विपक्षमा मत दिने चार न्यायाधीशमध्ये दुई जना डेमोक्रेटिक र दुई जना रिपब्लिकन राष्ट्रपतिद्वारा नियुक्त भएका थिए ।

ट्रम्पले अदालतको आदेशलाई अत्यधिक पक्षपातपूर्ण भनेका छन् । यद्यपि सर्वोच्च अदालतले पुनरावेदन अदालतको आदेश उल्ट्याउने दाबी गरेका छन् ।

‘मलाई आशा छ सर्वोच्च अदालतको सहयोगमा यी करहरूले देशलाई फाइदा पुऱ्याउनेछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?