काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अब राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् ।
उज्यालो नेपाल अभियान लिएर एक महिने विदेश भ्रमणपछि फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा रहेको निराशा हटाउन आवश्यक रहेको बताए ।
सञ्चारकर्मीहरूले घिसिङसँग अब नयाँ पार्टी खोल्ने कि अन्य नयाँ राजनीतिक शक्तिसँग मिलेर काम गर्ने भन्ने प्रश्न सोध्दा उनले जवाफमा भने, ‘धेरै सुझाव आएका छन्, पार्टीभित्र होस् वा बाहिर, राम्रा व्यक्तिहरू आओस्, डेलिभरी दिन सक्ने टिम बनोस् । व्यक्तिगत प्रयास मात्रै पर्याप्त छैन, सामूहिक प्रयास हुनुपर्छ । राम्रा व्यक्ति हरेक क्षेत्रमा आउनुपर्छ। केही गर्न चाहनेहरूले एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ ।’
उनले यस अभियानमार्फत केवल एक ठाउँको समस्या समाधान गर्ने उद्देश्यले नआएको पनि स्पष्ट पारे । उनले रुपन्देहीको उपनिर्वाचन आफ्नो प्राथमिकतामा नरहेको बताउँदै भने, ‘रुपन्देहीको उपनिर्वाचनमा धेरै जान चाहन्न। एउटा व्यक्ति गएर धेरै सुधार हुने अवस्था छैन । मैले यो अभियान एक ठाउँको विषयका लागि सुरु गरेको होइन ।’
घिसिङको यो स्पष्ट अभिव्यक्तिले आगामी राजनीतिक गतिविधिहरूमा उनको भूमिकाबारे जनतामा उत्सुकता थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया