मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित

लोकपथ
35
Shares

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलहरूको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित भएको छ ।

दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले नारा लगाउँदै विरोध जनाएका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहालाई बोल्ने अवसर दिए ।

कुशवाहाले अर्थमन्त्री सुनीलप्रसाद साहको राजीनामा माग गर्दै सरकारले ल्याएको बजेट त्रुटिपूर्ण र बहुमतको दबाबमा पारित भएको दाबी गरे । उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अवरुद्ध रहने चेतावनी पनि दिए ।

उनको भनाइपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिवाद गर्दै, सर्वदलीय बैठकमा सहभागी नहुनु र सदन अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरे ।

अवरोध रोक्न नसकेपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने घोषणा गरे ।

यसअघि दुई दिनदेखि प्रतिपक्षी दलहरूले सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । बैठक अवरुद्ध गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?