एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

लोकपथ
77
Shares

सुनसरी । सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागु औषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सो अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका थिए ।

प्रहरीले उक्त वर्ष १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर तथा चार लाख २८ हजार २९७ थान विभिन्न ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार चालु आव २०८२/८३ को साउन महिना मात्रै लागुऔषधसम्बन्धी ६६ मुद्दा दर्ता भई १०३ पुरुष र ८ महिला पक्राउ परेका छन् । यस अवधिमा दुई हजार ३३१ केजी गाँजा र ४२९ ग्राम ८९५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा अधिकांश युवा रहेका छन् । अघिल्लो आव २०८०८१ मा २४१ मुद्दामा ३७६ पुरुष र ३३ महिला गरी ४०९ जना पक्राउ परेका थिए । पछिल्ला तथ्याङ्कले लागु औषध कारोबारमा संलग्न हुने संख्या बर्सेनि बढिरहेको देखाएको छ ।

प्रहरीका अनुसार लागु औषध प्रयोग तथा कारोबारमा संलग्न हुनेमा प्रायः ज्याला मजदुरी गर्ने तथा बेरोजगार युवाको संलग्नता बढी छ । उमेर समूहअनुसार १९ देखि ३५ वर्ष उमेरका युवाको संलग्नता सबैभन्दा बढी देखिएको छ । अघिल्ला तीन आवमा यस समूहका ९२० जना पक्राउ परेका थिए भने १८ वर्षभन्दा कम उमेरका २७ जना, ३५ देखि ५० उमेर समूहका २२८ जना र ५० वर्षमाथिका ४० जना पक्राउ परेका थिए ।

यसबिच, प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले विद्यालय, समुदाय र सार्वजनिक स्थललाई लक्षित गरी लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?