राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने सर्वसम्मत निर्वाचित

लोकपथ
581
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।  

समितिको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सांसद न्यौपाने सभापतिमा निर्विरोध भएको घोषणा गरिएको हो । बैठकको सञ्चालन समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लालले गरेका थिए । शुक्लाले नै समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन । उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए । यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

सभापतिमा निर्विरोध निर्वाचित भएसँगै न्यौपानेले सभामुख देवराज घिमिरेसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

बुधबार अपरान्ह सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा न्यौपानेले शपथग्रहण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?