संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व सुरु हुन्छ : गृहमन्त्री लेखक

लोकपथ
294
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणमा २० वर्ष लागेको स्मरण गर्दै यसको असफलतापछि मुलुकमा अकल्पनीय द्वन्द्व सुरु हुने चेतावनी दिए । ‘संविधान असफल भयो भने अब २० वर्षमा पनि नयाँ संविधान बनाउन सकिँदैन, उनले भने ।

उनका अनुसार अहिले देखिन थालेका केही लक्षणले पनि संविधानप्रति चुनौती बढेको संकेत गरेका छन् । संविधानको रक्षा, सुदृढीकरण र समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ छ ।

संविधानलाई समय र समाजको विकासअनुसार निरन्तर परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘संविधानलाई बचाइराख्दै त्यसलाई उन्नत बनाउने प्रक्रियामार्फत अघि बढ्नुपर्छ ।’

उनले वर्तमान सरकार गठनकै बेला कांग्रेस र एमालेबिच संविधान संशोधनबारे सहमति भएको तर सरकार बनेको एक वर्ष भइसके पनि कार्यान्वयनमा प्रगति हुन नसकेको स्वीकार गरे । ‘त्यतातिर परिणाममुखी ढंगले प्रवेश गर्न नसक्नु हाम्रो कमजोरी हो,‘ उनले स्पष्ट पारे ।

संविधानप्रति कतिपयले प्रश्न उठाएको विषयलाई समेत उनले जायज ठहर गरे । ‘संविधानमा सबै कुरा समेट्न खोज्दा पनि केही कमी कमजोरी बाँकी रहेका छन्, त्यसैले समयसापेक्ष संशोधन अपरिहार्य छ,‘उनले भने ।

गृहमन्त्री लेखकले संविधान असफल भए मुलुकमा संघीयता र अधिकार बाँडफाँडभन्दा गहिरो र अकल्पनीय प्रकारका द्वन्द्व सुरु हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?