नामको लोकतन्त्रले देश विकास हुँदैन : उपाध्यक्ष पाण्डे

लोकपथ
224
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नाम मात्रको लोकतन्त्रले देश विकास गर्न नसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश विकास नेतृत्वमा निर्भर हुने उल्लेख गरे । उनले कतिपय देशमा तानाशाही व्यवस्थाबाट समेत तीव्र विकास भएको उदाहरण प्रस्तुत गर्दै लोकतन्त्र मात्रै विकासको आधार बन्न नसक्ने तर्क गरे ।

पाण्डेले भने, ‘लोकतन्त्रले देश विकास हुन्छ भन्ने कुरा पूर्ण सत्य होइन । दक्षिण कोरियामा तानाशाही शासनबाटै देशमा रूपान्तरण भयो । कहिले तानाशाही सकारात्मक रूपमा आउँछ, कहिले नकारात्मक हुन्छ । संसारमा एउटै अनुभव छैन ।’

उनले कम्युनिष्ट पार्टीभित्रै पनि तानाशाही र निरंकुशताको प्रवृत्ति रहेको भन्दै सयविरुद्ध निरन्तर लडिरहेको उल्लेख गरे । पीडितहरूको मात्र जमघटले समाजमा परिवर्तन सम्भव नहुने भन्दै उनले युवाहरुमाझ गएर बहस र संगठनमार्फत नयाँ दिशातर्फ देशलाई अघि बढाउन सकिने धारणा राखे ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले विश्वविद्यालयहरू एक समय असल नेता उत्पादन गर्ने केन्द्र भएको तर अहिलेको नेतृत्व शैलीप्रति भने जनतामा निराशा देखिएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?