काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नता पुष्टि भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई संसदीय समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताए ।
सांसद केसीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रतिवेदनलाई ‘प्रमाणविहीन र मनगढन्ते’ भन्दै प्रतिवाद गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले प्रतिवेदन कार्यान्वयनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले चासो नदिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘संसदीय समितिहरू बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष होइन । प्रतिवेदन कार्यान्वयनमा सरकार र अख्तियार मौन छन्, जसले संसदीय मर्यादामा प्रश्न उठाएको छ र भ्रष्टाचार संरक्षणमा सरकार संलग्न भएको आशंका पुष्टि गरेको छ ।’
सांसद केसीले अख्तियारलाई सत्य तथ्यको आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गरे ।
संसदीय समितिको छानबिन प्रतिवेदन अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्शनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया