दैलेख । भ्रमणशील जीवनयापन गर्दै आएका दक्षिण एसियाको एक मात्र लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको छ । ७५ वर्षीय शाहीको हृदयाघातका कारण बिहीबार बिहान ९ः३० बजे निधन भएको हो ।
उनीलगायत राउते केही समयअघि सुर्खेतको वीरेन्द्रनगर–११ चन्दनपुरबाट बसाई सराई गरेका थिए । लेकबेशी नगरपालिका–१० झुप्राखोला जंगलमा बसोबास गरिरहेका शाहीको बिहीबार बिहान निधन भएको राउटे परियोजनाका जोडी शिक्षकको रूपमा काम गर्दै आएका लालबहादुर खत्रीले टेलिफोनबाट जानकारी दिए ।
मृतक नन्दाराम शाहीको पत्नीको एक वर्षअघि मात्र मृत्यु भएको थियो । श्रीमती गुमाएका शाही पछिल्लो समय कमजोर बन्दै गएका थिए । मृतक शाहीका ४५ वर्षीय छोरी बहिरा शाही र ज्वाइँ चन्द्रमान शाही छन् । उनको नाति नातिना ७ जना रहेका छन् ।
फिरन्ते जीवनयापन गर्दै आएका उनीहरू हाल झुप्रा खोला जंगलमा बस्दै आएका छन् । शाहीको निधनपछि राउटे समुदायको संख्या १ सय ३५ मा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया