सांसद लिम्बूको प्रश्न : ‘पाँच विद्यार्थीको निःशुल्क पढाइमा विवाद किन ?’

लोकपथ
637
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रगतिशील भन्दै निजी विद्यालयलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी विद्यालयहरूले पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउँदा खुट्टा कमाउने प्रवृत्ति देखाउनु नहुने बताएका हुन् ।

‘चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरू हामीलाई थाहा छ, तर पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउँदा खुट्टै कमाउनुपर्छ भन्ने कुरा होइन,’ लिम्बूले भने ।

उनका अनुसार सरकारले निजी विद्यालयको ‘घाँटी समात्ने’उद्देश्य राखेको छैन । बरु निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउन सरकार अघि बढिरहेको उनले स्पष्ट पारे ।

लिम्बूले विद्यालय शिक्षा विधेयक प्रगतिशील भएको उल्लेख गर्दै यसबारे अनावश्यक ‘कोकोहोला’ नगर्न आग्रह समेत गरे । ‘शिक्षक साथीहरूले नेताहरूमाथि अनावश्यक दबाब दिने, नेताहरू अडिन नसक्ने अवस्था पनि समस्या भएको छ,’ उनले भने, ‘खुट्टा नकमाईकन यो काम अघि बढाउनुपर्छ ।’

उनले महँगी बढेको र शुल्क बढाउनुपर्ने अवस्था आएको स्वीकार गर्दै पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?