काठमाडौं । सरकारले सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको विज्ञप्ति मार्फत जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
जोशीकी आमा र बहिनी हाल इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी आफूहरूले गरेको फेहरिस्तको बारेमा पनि जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ, यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ, निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पीडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको ब्यहोरा पनि अनुरोध छ ।’
मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै राजदूतलाई सक्रिय बनाएको समेत दाबी गर्दै भनेको छ, ‘यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ–आफ्ना सरकार समक्ष पुर्याउन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्, यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रूपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ ।’
त्यस्तै इजरायल र हमासबीच दोस्रो पटक भएको अल्पकालीन युद्धविरामको मन्त्रालयले यसको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत बारम्बार अनुरोध गरेको उल्लेख गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी हमासको कब्जामा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया