काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा प्रधानमन्त्री बन्न पार्टी र कार्यकर्ताको विश्वास प्रमुख आधार हुने बताएका छन् ।
बुधबार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भएको विषयलाई लिएर हुने बहस उदेकलाग्दो भएको बताए ।
महासचिव पोखरेलले भने, ‘प्रधानमन्त्री भन्नेकुरा पालोको होइन, विश्वासको कुरा हो । पार्टी र कार्यकर्ताको विश्वासको जगमा मात्र प्रधानमन्त्री बन्न सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’
उनले देउवा पाँच पटक प्रधानमन्त्री भए पनि एक कार्यकाल पनि पूरा गर्न नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरताको दण्ड व्यक्तिगत नेताले हैन, व्यवस्थाले व्यहोर्नुपर्ने बताए । ‘नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले मात्र व्यहोर्नुपर्ने हो ? राजनीति अस्थिर रह्यो, त्यसपछि कति पटक प्रधानमन्त्री भएको भन्ने आधारमा नेतृत्वको समीक्षा गर्नु उचित हुँदैन, ‘उनले प्रश्न गरे ।
राजनीतिक स्थिरता अबको मुख्य चुनौती रहेको बताउँदै पोखरेलले चुनावी गठबन्धनमा मात्रै केन्द्रित नभई नीतिगत आधारमा जनमत ध्रुवीकरण गर्नुपर्नेमा जोड दिए ।
उनले ध्रुवीकरण भन्नाले साना दलहरूको अस्तित्व समाप्त गर्ने होइन, स्पष्ट नीति र विचारका आधारमा मतदातालाई आकर्षित गर्ने प्रक्रिया हो भन्ने प्रस्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया