काठमाडौं । माओवादी केन्द्र संसदको तेस्रो ठूलो शक्ति हो अहिले । गत निर्वाचनपछि लामो समय सरकार चलाए पनि माओवादी अहिले भने संसदको प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ । सरकारलाई लयमा ल्याउने काम प्रतिपक्षी दलहरु त्यो माथि पन प्रमुख प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ ।
तर माओवादी केन्द्रको कतिपय निर्णय हेर्दा प्रतिपक्षीको बेच्नमा रहे पनि माओवादी सत्तापक्षझै जस्तो देखिन्छ । त्यसका केही उदाहरणहरु छन् ।
अहिले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिरहेका छन् । दुई दलले त्यही प्रयोजनार्थ मंगलबार आ–आफ्ना सांसदहरुको हस्ताक्षर समेत संकलन गरे । दुवै दलले खाली कागजमा हस्ताक्षर गराएको कुरा बाहिरिएको छ । हस्ताक्षर गरेका केही सांसदहरुले नै त्यसबारे पुष्टि गरेका हुन् ।
संवैधानिक परिषद्मा सत्तापक्षकै बहुमत नपुग्ने भएपछि उपसभामुख रानालाई सत्तापक्षले यसअघि नै हटाउने तयारी गरेको थियो । तर कुनै उपाय नलागेपछि चुप लागेका दलहरु पुनः राजनीतिका भागबण्डा मिलाउन लागिपरेका छन् । यता विपक्षी दलहरुले त्यसको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकाले ।
मंगलबार नै माओवादीको पदाधिकारी बैठकमा सो विषयमा छलफल समेत भएको थियो । संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा माओवादी केन्द्रले अन्य विपक्षी दलहरुसँग समेत सो विषयमा छलफल मंगलबार नै गर्यो ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादीको आह्वानमा राप्रपा, रास्वपा, एकीकृत समाजवादी, आम जनता पार्टी लगायतको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै भनेका थिए, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो ।’
त्यसो त त्यसपछि बसेको विपक्षी दलहरुको बैठकमा पनि प्रचण्डले त्यसको खुलेर प्रतिरोध गर्ने बताएका थिए ।
तर आजको बैठकमा न संसदमा माओदीले त्यस विषयमा आवाज उठायो, न त त्यसको विरोध गरेको रास्वपालाई साथ नै दियो । उपसभामुख प्रकरणमा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको भन्दै अहिले आलोचना भइरहेको छ ।
त्यसो त माओवादीले यसरी दोहोरो चरित्र देखाएको यो पहिलो घटना मात्र होइन । माओवादीले यसअघि पनि यस्तै चरित्र देखाएको थियो, भिजिट भिसा प्रकरणमा । भिजिट भिसा प्रकरणमा विपक्षी दल रास्वपाले निरन्तर आवाज उठाउँदै आइरहेको छ । करिब ३ महिनादेखि रास्वपाले संसद बैठक बहिस्कार समेत गर्दै आइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकनै जोडिएको भन्दै उनलाई हटाउन माग गर्दा माओवादी केन्द्रले भने त्यसबाट हात छाडिदियो । जेठको पहिलो साता भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको बाहिरियो । त्यसपछि माओवादी केन्द्रले अहिले उपसभामुख प्रकरणमा झै आपत्ति जनायो, अन्य विपक्षी दलहरुसँग छलफल पनि गर्यो । तर अन्तिममा भने माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति भन्दै सरकार पक्षसँग मिल्न पुगेको थियो । त्यसबेला विपक्षीहरुले माओवादी केन्द्रको ठूलो विरोध जनाएका थिए ।
अहिले पनि सुरुमा उपसभामुख प्रकरणमा माओवादी केन्द्रले चासो देखायो । तर आज बसेको प्रतिनिधि सभा बैठकमा माओवादीले त्यस विषयमा कुनै प्रतिक्रिया नै दिएन । यानेकी पुरानै चरित्र दोहोर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया