काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका विभिन्न चर्चित घटनाबारे अझै पनि सत्य बाहिर नआएको भन्दै प्रश्न उठाएका छन् । उनले विशेष गरी दरबार हत्याकाण्ड र दासढुंगा काण्डलाई रहस्यमय घटनाको रूपमा स्मरण गर्दै ‘दरबार हत्याकाण्ड कसले गरायो ? दासढुंगा काण्ड कसले गरायो ?’ भन्ने प्रश्न आजसम्म पनि अनुत्तरित रहेको बताए ।
उनका अनुसार देशकै राष्ट्रप्रमुख भएको दरबारभित्र कडा सुरक्षा व्यवस्था हुँदाहुँदै त्यस्तो ठुलो घटना कसरी सम्भव भयो भन्ने विषयमा जनताले अझै स्पष्ट जवाफ पाउनुपर्नेछ । ‘नेपालमा सोच्नै नसकिएका, चिताउनै नसकिएका घटनाहरू भइरहेका छन् । अनुमानका आधारमा कसैलाई दोष लगाउन मिल्दैन, तर अनुसन्धान भइसकेका घटनामा फेरि प्रश्न उठाउनु राजनीतिक प्रयोजन मात्र हो,‘यादवले भने ।
साथै उनले १८ वर्षअघि भएको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । सो घटनामा चार/चार वटा आयोग र राष्ट्रसंघीय निकायसमेतले अनुसन्धान गरी प्रतिवेदन दिएको उनले स्मरण गराए । पाटन उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरी प्रतिवेदन पेस गरेको उनको भनाइ छ ।
यादवले गौर घटनाबारे थप स्पष्ट पार्दै भने, ‘त्यो दिन माओवादीका छापामारहरूले आक्रमण गर्दा हाम्रा कार्यकर्ताहरू भागिसकेका थिए । त्यहाँ दशौँ हजार गाउँले मात्र उपस्थित थिए । माओवादीहरूप्रति जनता आक्रोशित भएकाले त्यसको प्रतिक्रिया स्वरूप घटना भएको हुनसक्छ । अपहरण, फिरौतीजस्ता गतिविधिका कारण जनताको रिस एकै चोटि बाहिर आएको थियो ।’
उनले गौर घटनालाई लिएर बारम्बार राजनैतिक रूपमा मुद्दा खेलिने गरेको आरोप लगाए । ‘प्रतिसोध साँध्ने र मुद्दा दबाउने राजनीतिक खेल अलग कुरा हो, तर यसमा विभिन्न निकायले अनुसन्धान गरिसकेका छन्, यादवले जोड दिए ।
स्मरण रहोस्, २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा मधेसी जनअधिकार फोरम र माओवादीले एउटै दिन एउटै ठाउँमा कार्यक्रम गरेपछि भएको झडपमा माओवादी पक्षका २७ कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । घाइतेमध्येका त्रिभुवन साहलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालै भदौ २ गते गौर नरसंहारको छानबिन अघि बढाउन आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया