मित्र राष्ट्र भारतका विदेश सचिव विक्रम मिश्री आइतबार बिहान नेपाल ओर्लिए । दुई दिने औपचारिक भ्रमणमा आएका मिश्रीले एकै दिनमा प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर नेपालका राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्न भ्याए ।
गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि भारत रिसायो भन्ने चर्चा नेपालभरी थियो । ओली प्रधानमन्त्री बनेपछि पहिले उत्तरी छिमेकी देशको भ्रमणमा गएको भन्दै भारत रिसायो भन्ने भाष्य बनाइयो, जो अहिलेसम्म पनि कायम नै छ ।
नेपालको संविधानको प्रस्तावनाको सबैभन्दा पहिलो लाइनमा भनिएको छ, ‘हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता ।’
हामी सार्वभौम, स्वतन्त्र राष्ट्र भनेर गर्व गरिरहेका छौँ, यसको मतलब हामी हरेक कुरामा स्वतन्त्र छौँ भन्ने हुन्छ । तर हामी एकातिर स्वतन्त्र पनि भनिरहेका छौँ, अनि अर्कोतिर कुनै देश रिसायो भनेर पनि अत्तालिरहेका छौँ । यस्तो विरोधाभासपूर्अवस्था अहिलेबाट मात्र होइन प्रजातन्त्र स्थापना भएपछि र त्यो भन्दा अघिदेखि नै कायम छ ।
अब मुख्य विषयमा प्रवेश गरौँ ।
मिश्री नेपाल यस्तो बेला आए, जति बेला नेपालमा छिमेकी देश भारतले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएन भनेर प्रधानमन्त्रीमाथि समेत प्रश्न उठिरहेको थियो । मिश्रीको नेपाल आगमनले छिट्टै प्रधानमन्त्रीको भारत भ्रमण तय हुने आशा र अपेक्षा गरिएको छ ।
मिश्री नेपाल आइसकेपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण के होला ? द्विपक्षीय हितका विषयमा के कुरा होला ? मिश्रीले ओलीसँग के भने र ओलीले मिश्रीसँग के भने भन्नेतिर बहस गइरहेको छैन । बहस ओलीसँग मिश्रीको बसाइको पोजिसनतिर भइरहेको छ ।
आइतबार बिहान साढे ११ बजेको समयतिर मिश्री ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्छन् । कुटनीतिक प्रोटोकल अनुसार प्रधानमन्त्रीको तर्फबाट मुख्य राजनीतिक सल्लाहकारदेखि अन्य व्यक्तिहरु भेटघाटमा बसे । उता मिश्रीको तर्फबाट पनि नेपालका लागि भारतीय राजदूतसहित केही व्यक्तिहरु उपस्थित भए । खास के के विषयमा कुराहरु भयो भन्ने बाहिरिएको छैन । तर प्रधानमन्त्रीको सचिवालयले बाहिर ल्याएको तस्बिर बारे भने विभिन्न कोणबाट चर्चा भइरहेको छ । जहाँ प्रधानमन्त्री आफ्नो आशनमा दौरा सुरुवाल लगाएर बसेका छन्, मिश्री प्रधानमन्त्रीको साइडमा बसेका छन् । उनले उपरखुट्टी लगाएर बसेका छन्, जसलाई अहिले धेरै चर्चामा मात्र ल्याइएको छैन, भारतले नेपाललाई हेप्यो, कुटनीतिमा हामीलाई मतलब गरेन भनेर भनिँदै छ ।
कुटनीतिमा यी स–साना कुराहरुको पनि खास महत्व त हुन्छ, तर हामी केवल बसाईको पोजिसन वा आसनलाई बढी जोड दिइरहेका छौँ । ओलीपछि मिश्रीले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटे ।
प्रचण्डसँगको भेटमा मिश्री नर्मल पोजिसनमा नै बसेका छन् । त्यसपछि पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटे, जहाँ पनि मिश्रीले आफ्नो पोजिसन नर्मलमा नै राखेका छन् । अब सामाजिक सञ्जालमा ओली मन नपराउनेहरु र भारतले सधैँ हामीलाई हेप्छ भन्दै भारतको विरोध नै हाम्रो राष्ट्रियता हो भन्नेहरुले मसला बनाएका छन् । अझ माओवादीका नेता कार्यकर्ताले मात्र होइन उनीहरुका सांसदहरुले नै सामाजिक सञ्जालमा ओली र प्रचण्डसँगको मिश्रीको तस्बिर र तुलना गरेर कुरा गरिरहेका छन् ।

अब प्रश्न उठ्छ के मिश्रीले नियत नै राखेर नै ओलीसँग उपरखुट्टी लगाएर बसेका हुन् ? यदि त्यसो हो भने एमाले अध्यक्षसँग मात्र होइन हाम्रो प्रधानमन्त्रीसँग पनि उनी अमर्यादित आसनमा बसेका हुन् । हाम्रो प्रधानमन्त्रीसँग नै त्यसरी कुटनीतिक मर्यादालाई खलल पुर्याउने कुरा गरेका हुन् भने माओवादी वा अन्य ओली विरोधी तत्वहरु खुसी हुनुपर्ने कारण छ र ? यदि उनले प्रधानमन्त्रीलाई हेपेका हुन् भने हामी राजनीतिक रुपमा विभाजित भएका नेपालीहरुको चाहीँ मिश्री र भारतले सम्मान गरेको होला र ? यी र यस्ता बहस आवश्यक नै छैन, जुन हामी गरिरहेका छौँ ।
शीर्ष व्यक्तिहरुको भेटघाटदेखि बैठकसम्म पत्रकारहरुलाई तस्बिर र भिडियो क्लिपका लागि केहीबेर भित्र बस्न दिइन्छ, अनि बाहिर निकालिन्छ । आजको भेटघाटमा पनि पत्रकारहरु पुग्दा मिश्रीको उपरखुट्टीको पोजिसनमा थिए । पत्रकारहरुले भिडियो र तस्बिर खिचे बाहिरिए । त्यसपछि सुरु भयो मुख्य भेटघाट । न पत्रकारहरु निस्किएपछि हाम्रो प्रधानमन्त्रीको पो मिश्रीको जस्तो पोजिसनमा बसेका थिए कि ?, त्यो भने बाहिर आएन । अझ प्रधानमन्त्री ओलीको विपक्षमा कुरा गर्नेहरुले मिश्रीले सांकेतिक रुपमा भारतले नेपाललाई हेप्छ भन्ने देखाएको भन्दै आलोचना समेत गरिरहेका छन् ।
न बसाइका कारण कसैले कसैलाई हेपेको हुन्छ, न झुकेर नमस्कार गर्दा कोही हामीसँग लत्रिएको हुन्छ । केवल क्यामेराको लेन्सले कतिबेला क्लिक गर्न भ्यायो भन्ने कुरालाई कुटनीतिक मर्यादासँग जोडेर हेर्नु हाम्रो सतही तर्क र बहस मात्रै हो ।
केही समय अघि डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ओभल हाउसमा बोलाएर सातो खाएको विषयले विश्वभर चर्चा पायो । एक देशको राष्ट्रपतिले अर्को देशको समकक्षीलाई बोलाएरै सातो खाने प्रवृत्तिलाई कुन तहको विश्लेषण गर्ने ?
पृथ्वीनारायण शाहकै पालादेखि भनिँदै आएको ‘हामी दुई ढुंगाबिचको तरुल’ लाई दुई ढुंगाबिचको साँघु बन्ने बाटोमा लाग्ने कि पुरानै अभिव्यक्तिलाई दोहोर्याइरहने ?
कुनै पनि विदेशी पाहुना नेपाल आउँछ भने त्यो सत्तामा भएको दलको मात्र हुँदैन । के सत्ता, के प्रतिपक्ष सबैको पाहुना हुन्छ ।
हामी बहस र तर्क यसरी गरिरहेका छौँ कि मानौँ अहिले पाहुनाका रुपमा आएका मिश्री सत्ता चलाइरहेको एमाले र साथ दिइरहेको कांग्रेससहित अन्य दलहरुको मात्रै हो ।
हाम्रा कुनै प्रधानमन्त्री विदेश जाँदा सम्बन्धित देशले के दिन्छ भन्ने मानसिकता राखिरहेका हुन्छौँ र छौँ । संविधानमै लेखिएको स्वाधिनतालाई व्यवहारतः बनाउने हो भने हामी थप स्वतन्त्र बन्न स्वावलम्बी बन्न सिक्नुपर्छ, स्वावलम्बी बन्न आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ, त्यसका लागि आफ्नै उत्पादनमा जोड दिनुपर्छ, आत्मनिर्भर बन्नुपर्छ ।
नत्र, कुन देशको प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई कति मिटर झुकेर नमस्कार गर्यो, हाम्रो प्रधानमन्त्रीले अर्को प्रधानमन्त्री समक्ष कति मिटर अग्लो भएर कुरा गरे, बसाइको पोजिसन के थियो ?, हात कतिको कसिलो तरिकाले मिलाए भन्ने लगायतका बहसमा हामी भुलिएका हुने थिएनौँ । हामी दुई ढुंगाबिचको साँघु बन्ने तर्खरमा रहेको भए हामी बसाइको ‘पोजिसन’मा भन्दा कन्टेन्टमा विश्वास गर्ने थियौँ र बहस त्यसैमा गर्ने थियौँ ।
गत चैत १५ गते राजावादी आन्दोलनमा सिक्री हराएपछि एक व्यक्ति चर्चामा आए । राजा किन चाहिन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘मोदीले पनि झुकेर नमस्कार गर्छ हाम्रो राजालाई’ भन्ने उत्तर दिएका थिए, जुन त्यतिबेला निकै भाइरल बन्यो । हो, हामी ती व्यक्तिको तर्क जस्तै कसले कति झुकेर नमस्कार गर्छ भन्नेतिर मात्र बहसमा गयौँ भने, हामी सधैँ बोक्रामा रमाएर गुदी गुमाएकै हालतमा हुनेछौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया