हेटौँडा । बागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आयोजनामा यो अभियान भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत प्रदेशभरका ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ ।
मन्त्रालयकारअनुसार यो खोप सुरक्षित र प्रभावकारी छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् । पछिल्लो समय चितवन जिल्लामा यो रोग तीव्र रूपमा फैलिएको छ ।
यही रोगको प्रभाव न्यूनीकरणका लागि खोप अभियानको सुरुवात ललितपुर जिल्लाबाट गरिनेछ भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।
सोही अवधिमा ३७ हजार ८९ गाई भैँसी सङ्क्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर कुल गाईको सङ्ख्या ६ लाख ९४ हजार २१७ रहेको छ भने भैँसीको सङ्ख्या ५ लाख ४९ हजार १८२ रहेको छ । ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन् । जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन् । त्यहाँको दूध उत्पादन ९५ हजार १ सय ४१ मिल्क टन रहेको छ ।
त्यसैगरी, काभ्रेपलान्चोकमा १३ वटा स्थानीय तहमा ७३ हजार ९३६ गाई र ६६ हजार ९९ भैँसी पालिएको छ भने ८० हजार २८० मिल्क टन दूध उत्पादन हुने गरेको छ । धादिङ जिल्लामा ७६ हजार ६ सय ३ गाई र ८० हजार १ सय ४४ भैँसी छन्, जसबाट ५० हजार ३८ मिल्क टन दूध उत्पादन हुन्छ। मकवानपुर जिल्लामा ८७ हजार ७ सय ६४ गाई र ४७ हजार ६ सय ६९ भैँसी रहेका छन्, त्यहाँको दूध उत्पादन ५० हजार ३२० मिल्क टन रहेको छ ।
ललितपुरमा ६ वटा स्थानीय तह छन्, जहाँ २९ हजार ३०७ गाई र २९ हजार ७५ भैँसी छन्। त्यहाँको दूध उत्पादन २८ हजार ८४० मिल्क टन रहेको छ। काठमाडौंमा ११ वटा स्थानीय तहमा ३९ हजार १ सय गाई र १९ हजार ४ सय ४ भैँसी रहेका छन्, जसले २६ हजार ३९५ मिल्क टन दूध उत्पादन गर्छन् ।
भक्तपुरमा चार स्थानीय तहमा २२ हजार ९ सय ९२ गाई र ७ हजार ५ सय ८५ भैँसी छन्, र त्यहाँको दूध उत्पादन १३ हजार ५५७ मिल्क टन रहेको छ । यस्तै, नुवाकोट जिल्लामा ३० हजार ६५२ गाई र ६१ हजार ९ सय २० भैँसी छन्, जहाँबाट ३६ हजार ८५० मिल्क टन दूध उत्पादन हुन्छ।
रामेछापमा ५२ हजार ६ सय ६५ गाई र ३६ हजार ३ सय ३७ भैँसी रहेका छन् भने त्यहाँको दूध उत्पादन २१ हजार २ सय ३१ मिल्क टन रहेको छ। रसुवामा पाँच वटा स्थानीय तहमा ११ हजार ७ सय २ गाई र ८ हजार २ सय ३३ भैँसी छन्, र त्यहाँ ४ हजार ५३ मिल्क टन दूध उत्पादन हुने गर्दछ ।
सिन्धुलीमा ९ वटा स्थानीय तह छन्, जहाँ ९२ हजार ३ सय १६ गाई र ४७ हजार २ सय १५ भैँसी छन्। त्यहाँ ३४ हजार ९११ मिल्क टन दूध उत्पादन हुने गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्, जहाँ ४४ हजार ५ सय ९ गाई र ४६ हजार १ सय ३५ भैँसी छन् र २३ हजार ३९१ मिल्क टन दूध उत्पादन भएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया