काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका राप्रपा सांसद ध्रुवबहादुर प्रधानले सो माग गरेका हुन् ।
उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताए । उनले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।
साथै भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरुलाई कानूनी कारबाही गर्न माग समेत गरे । उनले भिजिट भिसाको दुरुपयोग गर्नेलाई कारबाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरे ।
उनले भने, ‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन ? जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरुले राजीनामा दिनुपर्ने अवस्थाहरु हुन सक्छन् । तैपनि यो सदन अडेको छ, छानबिन समिति गठन भयो । प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ । जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ । जसको कारण गृहमन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो । र इमिग्रेसन समेत मुछिएको अवस्था आयो । जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानूनी कारबाहीको बारेमा कुनै कुरा भएन । गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन । हामीले पटक पटक कुरा उठाएका छौं । यसको छानविनको लागि न्यायिक छानविन आयोग गठन गरियोस् । हामी संसदको अपमान नभई सम्मान होस् भन्न चाहेका छौं । तर भाषणमा मात्र समिति राखिन्छ । मुल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद बहिस्कारको क्रम जारी रहन्छ ।’
उनले भिजिट भिसा प्ररणको निष्पक्ष छानविन नभएसम्म आफ्नो पार्टीले संसल बहिस्कार गर्दै जाने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया