काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनी प्रावधानको पार्टीले विरोध गर्ने स्पष्ट पारे ।
शर्माले प्रस्तावित इन्टेलिजेन्ससम्बन्धी विधेयकप्रति पनि चिन्ता व्यक्त गर्दै दुई व्यक्तिबिचको टेलिफोन वार्ता समेत सुन्न सक्ने खालको कानुनी व्यवस्था दुरुपयोग हुने सम्भावना रहेको चेतावनी दिए । उनले राष्ट्रियता र सम्प्रभुतामाथि असर पर्ने प्रावधानमा सावधानी आवश्यक रहेको उल्लेख गरे ।
उनले पार्टी सरकारमा नरहेको बेलामा पनि राम्रा कामको समर्थन र गलत कामको विरोध गर्ने नीति अवलम्बन गरेको स्मरण गराउँदै, ‘अहिले हामी सरकारमा छौँ, तर सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित हुनुमा हाम्रो स्पष्ट विमति छ, ‘उनले भने ।
शर्माले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्न सरकारले गम्भीर हुनुपर्नेमा जोड दिँदै प्रविधि र सञ्चारका माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया