काठमाडौं । आगामी कात्तिक २७ गते हुन गइरहेको रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेकोमा त्यस अवधिमा २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएकाले २८ वटा निवेदन परेको आयोगले जनाएको छ ।
नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते र अध्यक्ष रञ्जिता श्रेष्ठले साउन २७ गते अन्तिम दिन दल दर्ताका लागि निवेदन दिएका थिए ।
नाउपाले गत साउन १५ गते रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । त्यसपछि निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न रेशम पक्षले निवेदन दिएकोमा आयोगले त्यसलाई अस्वीकार गर्दै श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ ।
उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।
यस्तै, एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेका तराई–मधेसका दलहरू पनि एक हुन सकेनन् ।
नाउपालाई समर्थन गर्ने सहमति सात पार्टी सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाबीच भएपनि यो दलमा आन्तरिक विवाद हुँदा जनमत पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएको छ ।
आयोगको निर्वाचन कार्यतालिकाअनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ । यस्तै, असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया