भिजिट भिसा प्रकरणमा छानबिन समिति माग, नबने बैठक बहिष्कार गर्ने राप्रपाको चेतावनी

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । 

उनले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाए । सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशीला कार्कीमध्ये एक जनाको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे ।

उनले भने, ‘अहिले पनि विदेशी जाने हाम्रा भाइ, छोराछोरीहरुलाई भिजिट भिसामा विदेश पठाउने कुरामा असुली धन्दा चलिराखेको छ । त्यसैको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन आयोग गठन होस् भनेर माग राख्दै आएको छ । तर यो काण्डमा पनि उच्चस्तरीय छानबिन आयोग नबन्ने हो भनेदेखि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउन कसले रोकेको छ ? सभामुख महोदय यो सदनका सबै माननीयज्यूहरु पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ अथवा सुशीला कार्कीको अध्यक्षता छानबिन समिति गठन गरौँ । यदि छानबिन समिति बन्दैन भने भत्ता समेत नलिकन राप्रपाले बैठक बहिस्कार गर्नेछ ।’

भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीका सांसदहरूले भत्ता नलिई संसद् बैठक बहिष्कार गर्ने उनको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?