प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथमा लिएर हिड्न सरकार तयार छ : मन्त्री खड्का

लोकपथ
56
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अग्रभूमिमा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मन्त्री खड्काले विद्युत् उत्पादन क्षमताअनुसार प्रसारण लाइन निर्माणको योजना बनाउनुपर्ने उल्लेख गर्दै कुन कोरिडोरमा कति क्षमतामा उत्पादन हुने हो, त्यसको यकिनसहित प्रसारण लाइन विस्तार गर्नुपर्नेमा जोड दिए । यसरी एउटै जग्गा र वन अधिग्रहणमार्फत दीर्घकालीन समाधान खोज्न सकिने उनको भनाइ थियो ।

उनका अनुसार ऊर्जा उत्पादनका क्रममा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नुपर्छ र छिमेकी मुलुक भारत–चीनसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्दै आर्थिक फाइदा लिन सकिन्छ । ‘विद्युतको माग दिनानुदिन बढ्दै गएको छ, त्यसैले उत्पादन वृद्धि अपरिहार्य छ, ‘उनले भने ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा ठूलो लगानी आकर्षित गर्न वित्त व्यवस्थापनको स्पष्ट खाका तयार भइसकेको बताउँदै निजी क्षेत्रलाई प्रमुख साझेदारका रूपमा लिइएको उल्लेख गरे । विद्युत् नियमन आयोगले लगानीको प्रतिफल सुनिश्चित गर्ने व्यवस्था गरेको जानकारी दिँदै उनले ट्रान्समिसन लाइनमा ढिलासुस्ती नगरी काम अघि बढाइने स्पष्ट पारे ।

उनका अनुसार सरकारले ऊर्जा क्षेत्रलाई मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा लिँदै आगामी दश वर्षका लागि ऊर्जा विकासको खाका अघि बढाएको छ । आर्थिक विकासलाई तीव्र गति दिने क्षमता भएको क्षेत्र ऊर्जा भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार तीव्र गतिमा अगाडि बढिरहेको मन्त्री खड्काको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?