काठमाडौं । राष्ट्रिय भेलामार्फत नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष चुनिएका प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई अध्यक्ष मान्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । स्रोतका अनुसार आयोगले यो विषयमा आज आफ्नो धारणा राख्दै छ ।
लालवीरलाई अध्यक्ष नमान्ने आयोगको निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ ।
पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर लालवीरलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए । तर मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो ।
यसअघि रेशमले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए । त्यसपछि लालवीरलाई नयाँ अध्यक्ष बनाइएको जानकारी निर्वाचन आयोगमा गराएका थिए ।
यसअघि २०८० पुसमा पनि रेशमले रञ्जितालाई अध्यक्षबाट हटाएर आफूलाई अध्यक्ष घोषणा गरेका थिए । तर निर्वाचन आयोगले रेशमलाई अध्यक्ष मान्न अस्वीकार गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीले २०८० पुस २७ गते कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट रेशमलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको भन्दै अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो । उक्त निवेदनमाथि निर्वाचन आयोगले उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।
कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए । कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैँ अध्यक्ष बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया