व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न रास्वपालाई एमालेको चेतावनी

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्तालाई व्यक्तिगत अपमान र गालीगलौज नगर्न कडा चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठीक लागे पनि भविष्यमा त्यसले गम्भीर नतिजा निम्त्याउन सक्ने चेतावनी दिए ।

साथै, उनले पार्टी सभापतिमाथि लगाइएको राजनीतिक प्रतिशोधको आरोपलाई नाटक ठहराउँदै हस्ताक्षर अभियान र चन्दा संकलनलाई पनि कटाक्ष गरे । बर्तौलाका अनुसार, आरोपिले अपराध स्वीकार गरेर बिगो भरेको अवस्थामा राजनीतिक प्रतिशोधको आरोप लगाउनु औचित्यहीन छ ।

उनले भने, ‘कसैलाई आमाको नाममा, बाबुको नाममा, स्वर्गारोहन भएका हजुरबुबाको नाममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरूबाट भइरहेको छ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु, यस्ता गालीहरू सुधार गर्नुहोस् । आज तपाईँलाई ठिक लागे पनि कालान्तरमा यही कुरा तपाईँहरूलाई भारी पर्ला ।’

महेश बर्तौलाले आरोप लगाउने पक्षले बिगो स्वीकारेर अपराधको समेत स्वीकारोक्ति गरिसकेको हुँदा राजनीतिक प्रतिशोधको आरोप नाटकमात्र भएको बताए । उनले भने, ‘बिगो स्विकार्नु अपराध स्वीकारोक्ति नै हो । तपाईँको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि राजनीतिक प्रतिशोधको आरोप नाटक हो भन्ने कुरा प्रमाणित भएको छ ।’

उनको यो टिप्पणीले पार्टीबिच जारी विवादमा थप तिखो पाटो थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?