काठमाडाैं । राष्ट्रिय जनमुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल र भारतबिचको खुला सीमाको दुरुपयोग गरी कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आतंकवादलाई जन्मन दिनु हुँदैन भन्दै कहिलेकाहीं राज्य नै आतंक सिर्जना गर्ने गरेको उदाहरण प्रस्तुत गरे ।
उनले भने, ‘आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले बन्दुक चलाउने, छाती र निधारमा गोली हान्ने कार्य राज्य आतंक हो र यसलाई अस्वीकार गर्नुपर्छ ।’
राजेन्द्र महतोले कुनै पनि नाममा गरिने आतंकवादको समर्थन नहुने स्पष्ट पार्दै दक्षिण एसिया क्षेत्र आतंकवादी उत्पादन गर्ने क्षेत्रको रुपमा चिनिने गरेको बताउँदै नेपालमा यस्तो गतिविधि हुन नदिन सबैले ध्यान दिनुपर्ने बताए।
उनले नेपाल–भारतबिचको जनस्तरको सम्बन्ध राज्य वा कुनै व्यक्ति निर्माण गरेको होइन र खुला सीमाको दुरुपयोग गरी आतंकवाद नफैलियोस् भनी संवेदनशीलताका साथ व्यवहार गर्नुपर्ने पनि उल्लेख गरे।
अध्यक्ष महतोले पूर्वीय सभ्यता र दर्शनलाई विश्वले आत्मसाथ गर्नुपर्ने र यसबाट शान्ति र सहअस्तित्व सम्भव हुनेमा विश्वास व्यक्त गरे।
उनले आतंकवादको विरुद्धमा सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै सुरक्षा र शान्तिको वातावरण कायम गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया