सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन्  । मधेस प्रदेशका आठ जिल्लामा हालसम्म ७६ दशमलव ५४ प्रतिशत धान रोपाइँ भइसकेको कुरा प्रकाश पार्दै उनले आगामी वर्षदेखि आकासे वर्षामा निर्भर नहुने गरी सिँचाइको दीर्घकालीन योजना लागू गरिने बताए ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, तराईका किसानहरू खासगरी महिलाहरूले यस वर्ष पनि धान रोपाइँमा सक्रिय सहभागिता जनाएकोमा खुसी व्यक्त गरे । ‘यस वर्षको खडेरीले तराईका धेरै खेतमा पानीको अभाव भएपछि रोपाइँमा समस्या आएको थियो,‘उनले भने, ‘म सरकारको तर्फबाट सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत र सहयोगको विशेष निर्णय गरिसकेको छु ।’

उनले थपे, ‘अहिले ५०० वटा डिपबोरिङ जडान गर्ने काम सुरु भइसकेको छ भने दीर्घकालीन समाधानका रूपमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्राकृतिक वर्षाले केही राहत मिलेको र साउन २३ गतेसम्म मधेसका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ सकिसकेको उल्लेख गर्दै आगामी दिनमा सबै खेतबारी हरियो हुने आशा व्यक्त गरे । उनले किसानहरूको मुस्कान, जमिनको हरियाली र खाद्यान्न सुरक्षालाई सरकारको मुख्य प्राथमिकता भएको पनि बताए ।

सरकारको यस पहलले तराई क्षेत्रका किसानहरूलाई आत्मनिर्भर बनाउने र सिँचाइ संकटलाई स्थायी रूपमा समाधान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?