काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपमेयर छिन् उमा अधिकारी । उनका पति पार्थिवेन्द्र उपाध्याय केही दिनअघिसम्म रुपन्देही क्याम्पस प्रमुख थिए । उनले क्याम्पस प्रमुखबाट राजीनामा दिएको केही दिनअघि मात्रै हो ।
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित ९ जनाको सूची सार्वजनिक गरेपछि पार्थिवेन्द्रले क्याम्पस प्रमुखबाट राजीनामा दिनुको कारण खुलेको छ । त्यो हो रास्वपाबाट उपनिर्वाचनमा भिड्नु ।
सो सूचीको दोस्रो नम्बरमा पार्थिवेन्द्रको नाम रहेपछि अहिले पार्थिवेन्द्रबारे धेरैको चासो बढ्न थालेको छ । किनभने उपमेयर उमा अधिकारी एमालेबाट निर्वाचित भएकी हुन् । यस्तै पार्थिवेन्द्रको पारिवारिक पृष्ठभूमि नै एमाले हो । सिद्धार्थनगर–७ का बासिन्दा उपाध्याय नेकपा एमालेका पूर्वसांसद जितबहादुर उपाध्यायका छोरा हुन् ।
बुवा जितबहादुर २०५१ सालको निर्वाचनमा रुपन्देहीबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । तर २०५३ सालमै असामयिक निधन भएका कारण जितबहादुरले लामो समय काम गर्न पाएनन् । पार्थिवेन्द्रकी आमा पुष्पाञ्जली उपाध्याय पनि एमाले नेतृ हुन् ।
पार्थिवेन्द्रलाई भने एमालेप्रति कुनै रुचि छैन । आफ्नो परिवार एमालेमा आबद्ध रहे पनि त्यहाँ रहेर काम गर्ने माहौल नभएकाले आफूले सुरुदेखि नै वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गर्दै आएको उनको भनाइ छ । । सोही अनुसार उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए ।
आफूले यो क्षेत्रका समस्यालाई नजिकबाट चिनेको र त्यसका लागि रास्वपा उपयुक्त पार्टी भएकाले उनले रास्वपाबाट चुनाव लड्न चाहेको बताए ।
रास्वपाले सार्वजनिक गरेका नामावलीमा एमाले पृष्ठभूमिका धेरै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया