काठमाडौं । नयाँ संसद भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो आपत्ति जनाएका हुन् ।
थपिएको म्यादमा पनि जुलाई महिनामा लक्ष्यअनुसार काम हुन नसकेको सांसदहरूको गुनासो छ । समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ ? भन्ने कुरा बन्दै गरेको संसद भवनको उदाहरणबाट स्पष्ट हुने बताए । उनले लिएको लक्ष्यअनुसार थपिएको म्यादमा पनि कार्य प्रगति हुन नसकेको बताए । म्याद थप गर्दा विलम्ब शुल्क किन लागेन भन्दै प्रश्न गरे ।
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए । उनले नयाँ संसद भवनको म्याद पटक पटक थप गरे पनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थालाई गिज्याउने बताए । अबको म्यादमा सकिने गरी काम हुनुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमार साहले साउन १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति रहेका बताए । उनले यही तरिकाले काम हुने हो भने दुई वर्षमा पनि काम सकिने स्थिति नरहेको बताए । जुलाई महिनामा ३.३ प्रतिशत काम हुनुपर्नेमा जम्मा १ प्रतिशत पनि नहुनु दुःखद् पक्ष भएको बताए ।
नेकपा एमाले सांसद सरस्वती सुब्बाले संसद भवन अनुगमनका क्रममा कामदारहरुको संख्या कम रहेको पाएको बताए । हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट सुरु गर्न सक्छौँ त ? उनको प्रश्न छ ।
सांसदहरुले म्याद पनि थपिएको र बजेट पनि भएको अवस्थामा निर्माण व्यवसायीहरुले काम नसक्नु दुःखद् भएको बताए । उनीहरुले काम गर्न कति जनशक्ति चाहिन्छ ? भन्ने कुराको आँकलन पहिला नै गर्नुपर्ने उनीहरुको भनाइ छ । काम समयमा नसक्ने र म्याद थप गर्दा समेत ढिलासुस्ती गर्ने कुरा सह्य नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया