राप्रपा फुटको संघारमा पुगेको हो ? यसो भन्छन् महामन्त्री राणा

लोकपथ
280
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीभित्र देखिएको मतभेद पार्टी विभाजनको पूर्वसन्धि नभएको स्पष्ट पारेका छन् ।

पार्टी विधानविपरीत गरिएको निर्णयलाई सच्याउनका लागि आफूहरू सक्रिय भएको उनले बताएका छन् ।

महामन्त्री राणाले भने, ‘हामी विभाजनको संघारमा छैनौँ । पार्टीभित्र केही मतभेद छन्, जुन स्वाभाविक हो । ती मतभेदलाई सुल्झाउने प्रयास भइरहेकै हो । तर, आन्तरिक रूपमा मिलाउन नसकेपछि निर्वाचन आयोगसम्म जानु परेको हो ।’

उनले अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी ढंगले पार्टी सञ्चालन गरिएको आरोपसमेत लगाए । ‘पार्टीलाई विभाजन गर्ने हाम्रो कुनै योजना छैन । तर, विधान विपरीत भएका कामलाई सच्याउनुपर्छ भन्ने हाम्रो धारणा हो । यो विद्रोह होइन, सुधार हो,’ उनले भने । ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनले पार्टी विधान उल्लंघन गर्दै नेताहरूलाई कारबाही तथा पदमुक्त गरेको आरोप लगाए ।

उनका अनुसार पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समिति प्रमुख नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावती र स्वयं राणालाई समेत बिना स्पष्टीकरण पदबाट हटाइएको थियो ।

पार्टी नेतृत्वको उक्त कदमविरुद्ध राणासहितको समूहले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले कारबाही पुनर्बहालीको माग गरेका छन् ।

पार्टीभित्रको विवाद चुलिँदै जाँदा राप्रपामा आन्तरिक कलहको संकेत देखिएको छ । तर, राणाले भने स्पष्ट रूपमा यो अवस्था पार्टी विभाजनको लागि नभई ‘संस्थागत सुधार र विधिको पालनाको’ लागि भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?